सिरहा- सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका औरही गाउँपालिका-२ तुलसियाहीका १५ वर्षीय गणेश यादवका परिवार र गृहमन्त्री सुधन गुरुङबीच आठबुँदे सहमति भएको छ।
मृतक परिवारले अघि सारेका पाँचबुँदे मागमा सरकारका तर्फबाट थप तीन बुँदा समेट्दै सहमति गरिएको गृहमन्त्री गुरुङले जानकारी दिए।
सहमति अनुसार गणेश यादवको मृत्यु घटनाको सत्यतथ्य छानबिन गरिने, उनलाई राज्यका तर्फबाट शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाइने र परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइनेछ। यस्तै, मृतकका दाइ र बहिनीलाई निःशुल्क शिक्षा तथा स्वास्थ्य सेवा, गणेशको नाममा पार्क निर्माण र उनका बुबाआमालाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिनेछ।
शनिबार नै शव बुझेर दाहसंस्कार गर्ने र त्यसका लागि लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने सहमति भएको छ।
गृहमन्त्री गुरुङका अनुसार पोस्टमार्टमका लागि शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। अनुसन्धान सहज बनाउन शव त्यहाँ पठाइएको र भोलि हेलिकोप्टरमार्फत सिरहा ल्याएर परिवारलाई जिम्मा लगाइने उनले बताए।
घटनाको निष्पक्ष अनुसन्धानका लागि अनुभवी अनुसन्धानकर्ता तथा विज्ञहरू सम्मिलित स्वतन्त्र छानबिन समिति गठन गरिएको गृहमन्त्री गुरुङले जानकारी दिए। उनले दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरे।
यद्यपि, २३ र २४ भदौको जेन–जी आन्दोलनमा मृत्यु तथा घाइते भएकाहरूले अझै न्याय नपाएको विषयमा सञ्चारकर्मीले राखेको प्रश्नको भने गृहमन्त्री गुरुङले जवाफ दिएनन्।

