बझाङ- जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले सवारीसाधनको सुरक्षा व्यवस्थापनमा कडाइ गरेको छ। ट्राफिक प्रहरीले जिल्लामा सञ्चालन भइरहेका सवारीसाधनको नियमित निगरानी बढाउनुका साथै क्षमताभन्दा बढी यात्रु बोक्ने, व्यक्तिगत प्रयोजनका लागि दर्ता भएका सवारीसाधनमा यात्रु ओसारपसार गर्ने तथा सवारीसाधनका सिसामा कालो स्टिकर लगाउने कार्यमाथि निगरानी बढाएको हो।
ट्राफिक प्रहरीका अनुसार सवारीसाधनको सिट क्षमताभन्दा बढी यात्रु बोक्दा तथा सिसामा कालो स्टिकर लगाउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले सुरक्षा व्यवस्थापनमा कडाइ गरिएको हो।
आइतबार जिल्ला सदरमुकाम चैनपुरमा गरिएको अनुगमनका क्रममा १२ वटा सवारीसाधनमा अनधिकृत रूपमा राखिएका सिट तथा हुट हटाइएको छ। यस्तै, दुईवटा सवारीसाधनका सिसामा लगाइएका कालो स्टिकरसमेत हटाइएको ट्राफिक प्रहरीले जनाएको छ।
यसैगरी, व्यक्तिगत प्रयोजनका लागि खरिद गरिएका रातो नम्बर प्लेटका सवारीसाधनले यात्रु ओसारपसार गर्न नपाउने भन्दै प्रहरीले त्यस्ता सवारीसाधनमाथि समेत निगरानी बढाएको छ। प्रहरीले पहिलोपटक अनधिकृत रूपमा राखिएका सिट, हुट तथा कालो स्टिकर हटाएर चालकलाई सम्झाइबुझाइ गरेको र आगामी दिनमा यस्ता गतिविधि दोहोरिए कारबाही गर्ने चेतावनी दिएको छ।
यसअघि शनिबार बुङ्गल नगरपालिकाको बिजगडा बजारमा व्यक्तिगत प्रयोजनका लागि खरिद गरिएको सवारीसाधनमा यात्रु ओसारपसार गरेको भेटिएपछि ट्राफिक प्रहरीले चालकलाई सम्झाइबुझाइ गरी यात्रु झारेको थियो।
सडक दुर्घटनाबाट हुने क्षति न्यूनीकरण तथा नागरिकको जीउधनको सुरक्षा गर्नु ट्राफिक प्रहरीको प्रमुख दायित्व भएकाले सवारीसाधनको सुरक्षा व्यवस्थापनमा कडाइ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले जनाएको छ।

