काठमाडौँ- बाढी, पहिरो तथा सडक अवरोधको उच्च जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले आइतबार राति अत्यावश्यक बाहेकका सबै सवारी साधन सञ्चालनमा रोक लगाएको छ।
जल तथा मौसम विज्ञान विभागले साउन ३ गते देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान सार्वजनिक गरेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले धादिङ, चितवन, गोरखा र नुवाकोट जिल्लामा रातिको सवारी आवागमन उच्च जोखिमयुक्त हुने जानकारी गराएको थियो।
यसैलाई आधार मान्दै जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै आइतबार राति १० बजेदेखि सोमबार बिहान ५ बजेसम्म जिल्लाभित्र चल्ने तथा जिल्ला भएर आवतजावत गर्ने सार्वजनिक र निजी सवारी साधनको सञ्चालन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको जनाएको छ।
प्रशासनका अनुसार एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी साधन तथा अन्य अत्यावश्यक सेवामा प्रयोग हुने सवारी साधन भने सञ्चालन गर्न पाइनेछ।
प्रशासनले सर्वसाधारणलाई मौसमसम्बन्धी आधिकारिक सूचना पालना गर्न तथा अनावश्यक यात्रा नगर्न पनि अनुरोध गरेको छ।


