काठमाडौं- लगातारको वर्षासँगै आएको पहिरो र बाढीको जोखिमका कारण काठमाडौं उपत्यकाबाट बाहिरिने तथा भित्रिने अधिकांश मुख्य राजमार्ग अवरुद्ध भएका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० मा गएराति पहिरो खसेपछि काठमाडौं–चितवन–पोखरा जोड्ने पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार राति १० बजेदेखि बिहान ५ बजेसम्म सडक बन्द गर्ने निर्णय गरिए पनि त्यसपछि पुनः पहिरो खसेकाले सवारी सञ्चालन हुन सकेको छैन। रातिदेखि नै आवागमन रोकिएकाले सडकमा जाम भने नभएको प्रहरीले जनाएको छ। यसबाट पृथ्वी राजमार्ग हुँदै पश्चिम नेपाल जाने यात्रुहरू सबैभन्दा बढी प्रभावित भएका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार हाल काठमाडौंबाट बाहिरिने सवारीसाधन भट्टेडाँडा–हेटौँडा मार्गबाट मात्रै सञ्चालन भइरहेका छन्। अन्य प्रमुख राजमार्गमा पहिरो र बाढीको जोखिम उच्च रहेकाले सवारी सञ्चालन रोकिएको छ।
पूर्वतर्फ जाने यात्रुहरू पनि प्रभावित भएका छन्। काभ्रेको रोशी गाउँपालिका क्षेत्रमा रोशी खोलामा बाढी आउने जोखिम बढेपछि स्थानीय प्रशासनले सवारी आवागमनमा रोक लगाएको छ।
जल तथा मौसम विज्ञान विभागले बागमती प्रदेशका अधिकांश क्षेत्रमा वर्षा जारी रहेको र थप वर्षा हुने सम्भावना रहेकाले विशेषगरी सिन्धुपाल्चोक, काभ्रे, ललितपुरलगायत जिल्लामा सतर्कता अपनाउन आग्रह गरेको छ।
मौसम पूर्वानुमान महाशाखा र स्थानीय प्रशासनले नदी तथा खोला आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन, अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न तथा मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पछ्याउन आग्रह गरेका छन्।


