डडेल्धुरा- डडेल्धुरामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित तीन जना घाइते भएका छन्। धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १८५० नम्बरको बोलेरो जिप आज बिहान करिब २ बजे भीमदत्त राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–७ खस्र्याखानमा सडकबाट करिब ४ सय मिटर तल खस्दा दुर्घटना भएको हो।
दुर्घटनामा दार्चुलाको अपिहिमाल गाउँपालिका–१ का अन्दाजी ४५ वर्षीय सुगन लोथ्याल र सोही स्थानका अन्दाजी २८ वर्षीय हनु लोथ्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी भास्कर चन्दले जानकारी दिएका छन्। दुर्घटनामा दार्चुलाको मार्मा गाउँपालिका निवासी ५० वर्षीय अमरसिंह ठगुन्ना, अपिहिमाल गाउँपालिका–१ का ३५ वर्षीय सरस्वती लोथ्याल तथा जिप चालक बैतडीको डिलासैनी गाउँपालिका–२ का अमृत घरेडी घाइते भएका छन्। उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

