काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही–३ को उपचुनावका लागि डा. लेखजंग थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। उम्मेदवारीका लागि आवेदन दिएका नौ जनामध्ये प्रारम्भिक मतदानमार्फत थापा चयन भएको रास्वपाले जनाएको छ।
डा. थापा यसअघि नागरिक उन्मुक्ति पार्टीसँग आबद्ध हुनुहुन्थ्यो। २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा उहाँ लुम्बिनी प्रदेशतर्फ खस आर्य समुदायको समानुपातिक सूचीमा परेको भए पनि सांसद बन्न सक्नुभएको थिएन। रुपन्देही–३ मा उपचुनाव हुने भएपछि उहाँले नागरिक उन्मुक्तिबाट राजीनामा दिएर रास्वपामा प्रवेश गर्नुभएको हो।
रुपन्देही–३ को उपचुनाव आगामी कात्तिक १७ गते हुँदैछ।

