बझाङ – प्रत्येक वर्ष असार १५ गते राष्ट्रिय धान दिवसका रूपमा मनाइन्छ। आज देशभर किसानहरूले खेतमा धान रोप्दै र दही चिउरा खाँदै धान दिवस मनाइरहेका छन्।
असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ। कामको चटारोमा थकित किसानलाई दही चिउराले ऊर्जा दिने विश्वास गरिन्छ। यस्तै शुभकार्य, बिदाइ र सगुनको रूपमा दही खुवाउने परम्परा पनि छ।
वैज्ञानिक दृष्टिले पनि दही स्वास्थ्यवर्द्धक मानिन्छ। पाचनशक्ति बढाउने, रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने, र औषधिको विकल्पका रूपमा प्रयोग हुने आयुर्वेदमा उल्लेख छ।
२०६२ सालदेखि सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउँदै आएको हो। कृषिप्रधान नेपालमा अधिकांश मानिसको मुख्य पेसा खेती भएकाले यस दिन विशेष महत्वका साथ मनाइन्छ।
बझाङमा पनि धानबालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता भन्ने मुल नारा सहित आज २२ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको आयोजना गरिएको छ । कृषि ज्ञान केन्द्र बझाङको आयोजना र थलारा गाउँपालिकाको सहयोगमा रेगम जिउलामा कार्यक्रमको आयोजना गरिएको हो ।
उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लगायत जिल्ला स्थिति विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहने जनाइएको छ ।
आजका दिन खेतमा छुपुछुपु हिलो खेल्दै, लोकदोहोरी गाउँदै धान रोप्ने चलन छ। असारे भाका, रमाइलो, र हिलोमा खेल्ने परम्पराले यो दिनलाई सांस्कृतिक उत्सव बनाएको छ।

