धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ को नीति कार्यक्रम तथा बजेट तयारी प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढीमा आयोजित बैठकमा नीति तर्जुमाका विषयमा विस्तृत छलफल भएको हो।
मुख्यमन्त्री कमलबहादुर शाहले बैठकमा सम्बोधन गर्दै दीर्घकालीन प्रभाव पार्ने, व्यावहारिक तथा कार्यान्वयन योग्य नीति तथा योजनाहरू चयन गर्न मातहतका मन्त्रालयहरूलाई निर्देशन दिएका छन्। उनले १५ दिनभित्र नीति तथा प्राथमिकता क्षेत्रको प्रतिवेदन पेस गर्न आग्रह गरे।
बैठकमा विकासमा सुशासन, नागरिक सहभागिता, उपभोक्ता समितिको भूमिकालगायतका विषयमा पनि छलफल भएको थियो। साथै, चालु खर्च घटाउने र पुँजीगत खर्च बढाउने रणनीतिमा जोड दिइएको छ।
गत वर्ष सत्ता समीकरण परिवर्तनका कारण असारमा प्रस्तुत बजेट पास हुन नसकी नयाँ सरकारले भदौमा संशोधित बजेट ल्याएको थियो। यसपटक समयमै तयारी गरेर प्रभावकारी बजेट कार्यान्वयन गर्ने लक्ष्य सरकारको रहेको छ।

