धनगढी, कैलाली | २०८१ चैत्र २५
कैलाली जिल्लाको धनगढी उप-महानगरपालिका वडा नं. ०३ स्थित चटकपुरमा रहेको एन एस होटलमा लागुऔषध कारोबार भईरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलाली अन्तर्गतको अपराध अनुसन्धान समूह तथा अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले छापा मारेको छ।
प्रहरी टोलीले होटलमा बसेका चार जनालाई शंका लागि चेकजाँच गर्दा उनीहरूको साथबाट ३ ग्राम ७६० मिलिग्राम खैरो हेरोइन (ब्राउन सुगर) फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको लागुऔषधसहित पक्राउ परेका चारै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका सह-प्रवक्ता प्रहरी निरीक्षक लोक राज जोशीले भने, “हाम्रो टोलीले विशेष सूचनाका आधारमा खड्कालाई पक्राउ गरेको हो। निजको साथबाट लागुऔषध फेला परेको छ, र आवश्यक अनुसन्धानका लागि उनलाई हिरासतमा राखिएको छ।”
पक्राउ पर्नेहरूमा:
१. कञ्चनपुर बेदकोट नगरपालिका वडा नं. ०८ निवासी २० वर्षीय सुरेश बिष्ट
२. कञ्चनपुर भीमदत्त नगरपालिका वडा नं. १० निवासी २३ वर्षीय लोकेन्द्र चन्द
३. डोटी दिपायल सिलगढी नगरपालिका वडा नं. ०८ निवासी १९ वर्षीय रिजन कठायत
४. कैलाली धनगढी उप-महानगरपालिका वडा नं. ०३ मिलन चोक निवासी १८ वर्षीया आशिका सिजापती रहेका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।

