दिपेन्द्र धामी- बझाङ ।
सुन्दर नौलो बिहानको कथा बुनेर, हजारौं सपनाहरू लिएर मानिसहरू शहर पस्छन्। उज्यालो भविष्यको खोजीमा गाउँ छोडेर आएका यी अनुहारहरू हरेक बिहान आफ्नो भाग्य कोर्न निस्कन्छन्। कसैले पढ्न, कसैले काम गर्न, त कसैले परिवारको बोझ बोक्न, तर गन्तव्य एउटै रहेछ सफलताको सहर।
तर यो सहर उनीहरूलाई सहजै अंगालो हाल्दैन। घरैघरको भीडमा उनीहरूका लागि एउटा थलो खोज्नु ठूलो संघर्ष बन्छ। “कता जाऊँ? के गरूँ? कता बसूँ?” यिनै प्रश्नहरूले दिनभर मनलाई घोच्छ। कोठा खोज्दै हिँड्दा कहिले घरबेटीको शर्तहरू, कहिले महँगो भाडा, त कहिले अपरिचित शहरको एक्लोपनले मन भारी बनाउँछ।
कोठा पाउनु मात्रै जित होइन रहेछ त्यसलाई टिकाइराख्नु अझ कठिन छ। कसैको बुवा, कसैको आमा, दाजुभाइ र दिदीबहिनीको पसिनाले कमाएको पैसा,बाँच्ने संघर्ष कति पीडादायी हुन्छ, त्यो भोग्नेहरूलाई मात्र थाहा हुन्छ। महिनाको अन्त्य आउनुअगावै भाडा तिर्नुपर्ने दबाब, घरबेटीको निगरानी, र शहरको चिसो व्यावहार यी सबै सहेर धेरै वर्ष बित्छ। पढ्न आएका विद्यार्थीहरू किताबका पानासँगै भाडाको कोठाको भित्ता पनि साथी बनाउँछन्। कोही त दिनरात मिहिनेत गर्छन्, राम्रो नतिजा ल्याएर अगाडि बढ्छन्। तर सबैलाई सफलता कहाँ सजिलै मिल्छ र? कोही कठिनाइसँग हार खान्छन्, जिन्दगीको भारले थिचिएर आत्महत्या नै गर्न बाध्य हुन्छन्।
काेहि एकै कोठामा बसेर कोही डाक्टर, इन्जिनियर बन्छन्, त कोही वर्षौसम्म संघर्ष गरेर पनि नलाग्ने जागिरका फारम भर्छन्। कोही रातभर जाग्राम बस्छन्, बिहानको उज्यालोसँगै सफलता खोज्छन्। कतिले यही कोठाबाट पढेर देशविदेशमा नाम चम्काउँछन्, त कतिले जीवन धान्ने संघर्षमै जिन्दगी बिताउँछन्।
कतिपयले यही कोठालाई व्यवसायको थलो बनाउँछन्। सानो पसल, सिलाइबुनाइ, अनलाइन काम गरेर आफ्नो खुट्टामा उभिन खोज्छन्। तर कति कोठा भित्रकै तनावले मानसिक रूपमा थलिन्छन्। एक्लोपन, निराशा, र सामाजिक दबाबले कोही आत्महत्या नै गर्न विवश हुन्छन्।
तर सपना पूरा गर्न संघर्ष त गर्नैपर्छ। आमा-बुवा, दिदी-बहिनीका सपना पूरा गर्न हरेक परिस्थितिलाई सामना गर्नैपर्छ। जिन्दगी सजिलो छैन, तर निरन्तर अघि बढ्नुको विकल्प पनि छैन।
कोठाको साँघुरो पर्खालभित्र सीमित नबनी, आत्मबललाई बलियो बनाएर अघि बढ्नुपर्छ। सपना ठूलो बनाएर हरेक चुनौती पार गर्ने संकल्प गर्नुपर्छ। किनभने आजको संघर्ष भोलिको सुन्दर बिहानीको आधारशिला हो।

