बझाङ: जिल्ला अस्पताल बझाङमा कर्मचारी नियुक्तिमा मनोमानी भएको पाइएको छ । अस्पतालमा छैटौं तहका कर्मचारी हुँदाहुँदै राजनीतिक चलखेल र आपसी मिलेमतोमा पाँचौ तहको करारको कर्मचारीलाई ल्याब इन्चार्जको नियुक्ति दिएको पाईएको हो ।
जिल्ला अस्पताल बझाङमा विगत १० वर्ष देखि छैटौं तह स्थाई रुपमा कार्यरत जनक राज जैसी गएको ३ वर्ष यता बझाङ जिल्ला अस्पतालको ल्याब इन्चार्जको रुपमा कार्यरत हुनुहुन्थ्यो । अस्पताल प्रशासनको नियम भित्र रहेर नियमित रुपमा आफ्नो जिम्मेवारी पूरा गरिरहेका जैसीको यहि असार १७ गते जिम्मेवारी खोसियो । उहाँको सट्टामा पाँचौ तहको अस्थाई कर्मचारी किशोर बहादुर विष्टलाई ल्याब इन्चार्जमा नियुक्त गरियो । अस्पताल प्रशासन ले आफूलाई जानकारी नै नगराएर आफ्नो सट्टामा विष्टलाई नियुक्त गरेको जनक जैसीले बताउनु भयो । अस्पतालमा माथिल्लो दर्जाको कर्मचारी हुँदाहुँदै करारको नयाँ कर्मचारीलाई जिम्मेवारी दिनु राजनैतिक चलखेल भएको अस्पतालकै कर्मचारीको गुनासो छ । यसमा मुख्य गरेर अस्पतालकै मेसु नवराज जोशी लगायतको मुख्य भुमिका भएको उनीहरुको आरोप छ ।
अस्पतालमा कर्मचारी लगायत अन्य व्यवस्थापनमा मेसु जोशिको विगत देखि नै नाम मुछिदै आएको छ । कहिले सरुवाको विषयलाई लिएर विवाद त कहिले मापदण्ड विपरीत कर्मचारी भर्नाको विषयमा विवादमा आईरहेका जोशिले फेरि यो पटक पनि आफू खुशी आफू अनुकूल मापदण्ड विपरीत कर्मचारीलाई नियुक्ति गरेको भेटिएको छ ।
अस्पतालमा सेवाप्रवाह भन्दा बढी राजनैतिक चलखेल र पुर्वाग्रह गरेको आरोप बेलाबेला लागिरहने जोशी संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशिका ज्वाइँ हुन् । डा. जोशिको दरबन्दी संघमा भएपनि राजनीतिक पुहुँच र पावरको आडमा हाल बझाङमा नि.मेसुको रुपमा कार्यरत छन । अन्य व्यक्तिहरुले अस्पतालको मेसुको जिम्मेवारी पाएता पनि उनीहरुको तत्काल सरुवा गराएर डा जोशी नै राजनैतिक आडमा बझाङमै नियुक्त हुने गरेका छन ।
पछिल्लो समय जिल्ला अस्पताल बझाङमा आफूखुसी कर्मचारी नियुक्त गर्ने र राजनैतिक चलखेल धेरै हुनेगरेका कारण गुणस्तरीय सेवा पाउन सेवाग्राहीलाई असहज भएको छ । सरकारले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा दिने उदेश्यले सरकारी अस्पतालमा ९८ प्रकारका औषधि निशुल्क वितरण गर्ने गरेको भएता पनि जिल्ला अस्पताल बझाङमा भने मुल्य तिरेर औषधिहरु किन्नु परेको सेवाग्राहीहरुको गुनासो छ ।
हेर्नुहोस् थप प्रमाण



