काठमाण्डौ- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन्। पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्स भिड्नेछन्।
त्रिवि क्रिकेट रंगशालामा हुने पहिलो खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ। यसअघि जनकपुर कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो। काठमाण्डौ गोर्खाजले भने आजको खेलसँगै यस सिजनको यात्रा सुरु गर्दैछ।
आजै बेलुकी ५ बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्स आमनेसामने हुनेछन्। कर्णालीले प्रतियोगितामा विजयी सुरुवात गरिसकेको छ भने विराटनगर आफ्नो पहिलो खेलमा चितवन राइनोसँग ८ रनले पराजित भएको थियो।
यसैबीच, एनपीएलमा हिजो सुदूरपश्चिम रोयल्सले पहिलो जित दर्ता गरेको थियो। त्रिवि क्रिकेट रंगशालामा भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको हो।
पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गरेको थियो। यसअघि उद्घाटन खेलमा सुदूरपश्चिम लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो।
आठ टोली सहभागी प्रतियोगिता आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।

