बझाङ- जिल्ला अदालत बझाङमा आर्थिक वर्ष २०८२-८३ मा सम्बन्धविच्छेद, अंश तथा जबरजस्ती करणीसम्बन्धी मुद्दामा उल्लेख्य वृद्धि भएको छ।
मंगलबार पत्रकारहरूसँग वार्षिक कार्यप्रगति सार्वजनिक गर्दै अदालतले आर्थिक वर्षभर अंश तथा सम्बन्धविच्छेदका ३९ वटा मुद्दा दर्ता भएको जनाएको छ। त्यसपछि जबरजस्ती करणी तथा करणीसम्बन्धी २२ र जग्गासम्बन्धी २१ वटा मुद्दा दर्ता भएका छन्।
त्यसैगरी अंशबन्डाका १३, बालविवाह तथा बहुविवाहका १०, लागूऔषधका १०, चोरीका ९, अभद्र व्यवहारका ८, कुटपिट, लुटपाट तथा गालीबेइज्जतीका ७, ज्यान मार्ने उद्योगका ६, जालसाजीका ५, चेक अनादर तथा बैंकिङ कसुरका ५, सवारी ज्यान तथा हेलचेक्र्याइँका ५, बाल यौन दुरुपयोगका ४, कर्तव्य ज्यानका ४, आत्महत्या दुरुत्साहनका ४, बकपत्र बहसका ३, आपराधिक उपद्रवका ३, ठगीका २ र जग्गा खिचोलाका २ मुद्दा दर्ता भएका छन्। पालनपोषण, लेनदेन, राजीनामा लिखत पारित, नक्कली नोट, हातहतियार, मिलापत्र बदर, अदालतको अवहेलना, निषेधाज्ञा तथा लिखतसम्बन्धी कसुरका एकएक वटा मुद्दा पनि दर्ता भएका छन्।
अदालतका अनुसार चालु आर्थिक वर्षमा कुल १९१ वटा मुद्दा लगतमा रहेकामा १५१ वटा फर्छ्योट भएका छन् भने ४० वटा विचाराधीन छन्। यस अवधिमा दर्ता भएका १५२ नयाँ मुद्दामध्ये ११४ वटा फर्छ्योट भई ३८ वटा बाँकी छन्।
यस्तै, आर्थिक वर्ष २०८१-८२ बाट जिम्मेवारी सरेका ३९ मुद्दामध्ये ३७ वटा फर्छ्योट भइसकेका छन् भने दुई वटा मात्रै बाँकी छन्। हाल अदालतमा दुई वर्षभन्दा पुराना कुनै पनि मुद्दा बाँकी नरहेको निमित्त श्रेस्तेदार प्रकाश सिंहले जानकारी दिए।
कार्यक्रममा जिल्ला अदालत बझाङका न्यायाधीश सुवर्णमान बनेपालीले मोबाइल फोनको बढ्दो प्रयोग र दुरुपयोग का कारण जबरजस्ती करणी तथा महिला र बालबालिकासम्बन्धी मुद्दामा वृद्धि भइरहेको भन्दै चिन्ता व्यक्त गरे।
उनले अदालतबाट दोषी ठहर भई कैद वा जरिवानाको सजाय सुनाइएका केही व्यक्ति सजाय भुक्तान नगरी गाउँघरमै बसिरहेको पाइएको उल्लेख गर्दै त्यस्ता फरार वा जरिवाना नतिरेका व्यक्तिलाई राज्य तथा स्थानीय तहबाट उपलब्ध हुने सेवा–सुविधा रोक्न सम्बन्धित स्थानीय तहलाई पत्राचार गरिसकिएको जानकारी दिए।
अदालतका अनुसार हाल फौजदारीतर्फ ३,९०५ र देवानीतर्फ ३,३३८ गरी कुल ७,२४३ वटा पुराना मिसिल रहेका छन्। तीमध्ये ३,४८१ वटा मिसिल सडाइसकिएको तथा ६,४५८ वटा मिसिल कम्प्युटर प्रणालीमा प्रविष्ट गरिएको छ। अहिले ६५० वटा मिसिल अति जीर्ण, १,१४८ वटा जीर्ण र ५,३९८ वटा सामान्य अवस्थामा रहेका छन्।
आर्थिक वर्ष २०८२-८३ मा जिल्ला अदालत बझाङले विभिन्न शीर्षकबाट १६ लाख २८ हजार ७८८ रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ।

