कैलाली। नेपाल परिवार नियोजन संघ, कैलाली शाखाको ३३औँ अधिवेशनबाट जनकराज जोशी अध्यक्षमा निर्वाचित भएका छन्। अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको रहनेछ।

निर्वाचन परिणामअनुसार शाखाको कोषाध्यक्षमा चिरञ्जीवी पाठक निर्वाचित भएका छन्। महिला सदस्यमा भगवती बडाल र भुवनेश्वरी मल्ल विजयी भएका छन्।
त्यसैगरी, विशेषज्ञ सदस्यतर्फ कुश्मा जोशी (अपाङ्गता), सुभाषचन्द्र उपाध्याय (कानुन), रञ्जना जोशी (अर्थ) तथा कालीप्रसाद पडाल (प्रजनन स्वास्थ्य) निर्वाचित भएका छन्।
किशोर–युवा सदस्यमा मोनिका वड र स्तुति आचार्य निर्वाचित भएका छन् भने युवा सदस्यमा रोशनी चौधरी चयन भएकी छन्।
नवनिर्वाचित कार्यसमितिले आगामी तीन वर्षसम्म परिवार नियोजन, प्रजनन स्वास्थ्य, यौन तथा प्रजनन अधिकार, किशोर–किशोरीमैत्री सेवा तथा समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धिका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।
नवनिर्वाचित अध्यक्ष जनकराज जोशीले आफूलाई विश्वास गरेर नेतृत्वको जिम्मेवारी सुम्पिने सम्पूर्ण सदस्य तथा मतदाताप्रति हार्दिक आभार व्यक्त गर्दै शाखालाई अझ सक्रिय, प्रभावकारी र सेवामुखी संस्थाका रूपमा स्थापित गर्ने प्रतिबद्धता जनाए। उनले परिवार नियोजन, सुरक्षित मातृत्व, प्रजनन स्वास्थ्य, किशोर–किशोरीमैत्री सेवा तथा यौन तथा प्रजनन अधिकारका कार्यक्रमलाई समुदायको आवश्यकताअनुसार अझ प्रभावकारी ढंगले सञ्चालन गरिने बताए। साथै, सबै सदस्य, सरोकारवाला निकाय र समुदायसँग सहकार्य गर्दै संघको उद्देश्य र अभियानलाई थप सशक्त बनाउने उनको प्रतिबद्धता रहेको छ।

