बझाङ- जिल्ला प्रशासन कार्यालयले नागरिकलाई डिजिटल राष्ट्रिय परिचयपत्र (कार्ड) घरदैलोमै पुगेर वितरण गरिरहेको छ । कार्यालयले जिल्लाको बित्थडचिर गाउँपालिकाका वडा कार्यालयमै पुगेर राष्ट्रिय परिचयपत्र (कार्ड) वितरण गरिरहेको हो ।
सेवा लिन जिल्लामा आउनुपर्ने झन्झट कम गर्न तथा सेवा प्रवाहलाई सहज बनाउन सञ्चालन गरिएको राष्ट्रिय परिचयपत्र वितरण अभियान अन्तर्गत कार्यालयले छापिएर आएका कार्डहरू वडा वडामा पुगेर वितरण गरिएको जनाएको छ ।
अभियान अन्तर्गत सनिवार बित्थडचिर गाउँपालिका-१ को कार्यालयबाट ७० जनालाई कार्ड वितरण गरिएको छ । वडाध्यक्ष मानबहादुर बोहरा, जिल्ला प्रशासन कार्यालयका विवरण दर्ता अपरेटर श्यामबहादुर बोहरा, गाउँपालिका एमाइएस अपरेटर टेकबहादुर बोहराको उपस्थितिमा नागरिकलाई कार्ड वितरण गरिएको थियोे ।
बैशाख १४ गतेदेखि थालिएको अभियान मार्फत हालसम्म वडा नं ९ मा ६० जना, ८ मा २९ जना ७ मा २३ जना , ३ मा ४६ जना,२ मा २८ जना र आज १ मा ७० जनालाई डिजिटल कार्ड प्रदान गरिएको विवरण दर्ता अपरेटर बोहराले कामना टुडेलाई जानकारी दिए । अभियान २४ बैशाख सम्म सञ्चालन हुनेछ ।
अभियानमा अपेक्षा अनुसार कार्ड वितरण हुन नसकेको जनाएको छ । कार्ड छापिएर आएका नागरिक जिल्ला बाहिरी हुँदा अपेक्षा गरे अनुसार कार्ड वितरण नभएको अपरेट बोहराको भनाइ छ ।
कार्ड छापिएर आएका ६० प्रतिशत नागरिक जिल्ला बाहिरी रहेका छन् भने १० प्रतिशत जानकारी नभएको हुनसक्ने र ३० प्रतिशत मात्रै कार्ड बुझेर लिएका छन् ।
कार्ड प्राप्त गर्न रुजु फाराम वा नागरिकता आवश्यक पर्छ।
कार्ड छापिएर आएका छुटेकाहरूले अब जिल्ला प्रशासन कार्यालय बाट बुझेर लिन सक्ने जनाइएको छ ।

