काठमाडौं– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. मंगल रावलले नेपाल चिकित्सक संघ (NMA) को अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।
संघको आगामी कार्यकालका लागि हुन लागेको नयाँ नेतृत्व निर्वाचनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा गर्दै डा. रावलले सामाजिक सञ्जालमार्फत केही समयपछि भिडियो सन्देश सार्वजनिक गर्ने तयारी रहेको बताएका छन्।
उम्मेदवारी घोषणा गर्दै उनले चिकित्सा क्षेत्रमै हासिल गरेको अनुभव, सेवा तथा नेतृत्व क्षमताका आधारमा संघमा “सकारात्मक परिवर्तन” ल्याउने उद्देश्य रहेको बताए।
“जुनसुकै विचारधारा, भूगोल वा पृष्ठभूमिबाट आएका भए पनि—अतीतमा योगदान पुर्याएका र भविष्यमा अझ ठूलो भूमिका निर्वाह गर्न सक्ने सबै चिकित्सक साथीहरूलाई टिममा जोडिन आग्रह गर्दछु,” उनले भने।
उनका अनुसार चिकित्सक संघमा आवश्यक संरचनागत तथा नीतिगत सुधारका लागि एकल व्यक्तिको प्रयास पर्याप्त हुँदैन, त्यसका लागि साझा संकल्पसहित सामूहिक नेतृत्व अपरिहार्य छ।
आगामी निर्वाचन तयारीका क्रममा डा. रावलले हालसम्म सदस्यता नलिएका चिकित्सकहरूलाई मंसिर १३ भित्र अनिवार्य रूपमा सदस्यता लिई दर्ता प्रक्रिया पूरा गर्न आग्रह गरेका छन्।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबिबिएस, चिकित्सक विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट एमएस (अर्थोपेडिक्स), बंगलादेशको AOA फेलोशिप, त्रिभुवन विश्वविद्यालयबाट एमपीए र हार्वर्ड मेडिकल स्कूलको LIMSEA कार्यक्रम गरिसकेका तथा एलएलबी अध्ययनरत डा. रावल कर्णाली क्षेत्रका सक्रिय अर्थोपेडिक चिकित्सक हुन्।

