बझाङ- जिल्ला प्रशासन कार्यालय बझाङले जिल्लाभित्र सार्वजनिक प्रदर्शन, र्याली तथा सभा–समारोह जस्ता गतिविधि गर्नुअघि अनिवार्य रुपमा अनुमति लिनुपर्ने जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले आज आइतबार सार्वजनिक सूचना जारी गर्दै नागरिकले संविधानले प्रदत्त स्वतन्त्रताको अधिकार अन्तर्गत शान्तिपूर्ण बैठक, सभा वा र्याली गर्न पाउने भए पनि त्यसका लागि अग्रिम अनुमति लिनुपर्ने जनाएको हो।
गृह मन्त्रालयको पत्रअनुसार शान्ति सुरक्षाको अवस्था र जिल्लाको वस्तुस्थितिलाई ध्यानमा राखी प्रशासनले यस्ता कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने जनाएको छ। स्वीकृति नलिएर कार्यक्रम सञ्चालन गर्न पाइने छैन भनेर कार्यालयले स्पष्ट पारेको छ।
कार्यालयका अनुसार सार्वजनिक प्रदर्शन, र्याली सभाजस्ता कार्यक्रम सञ्चालन गर्न इच्छुकले पहिला निवेदन दिनुपर्नेछ। निवेदन स्वीकृत भएपछि मात्र कार्यक्रम सञ्चालन गर्न सकिनेछ। साथै, कार्यक्रम सञ्चालनका क्रममा तोकिएका शर्त र नियमहरू पालना गर्नुपर्ने पनि सूचनामा उल्लेख गरिएको छ।
सूचना सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशीले हस्ताक्षर गरेर जारी गर्नुभएको हो।


