धनगढी- हाल देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शुक्रबार दिउँसो देशभर सामान्यतया बदली रहने छ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराईका केही भूभाग तथा मधेश प्रदेशसहित अन्य प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
त्यस्तै, लुम्बिनीको तराई, कर्णाली र बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने अनुमान गरिएको छ।
आज राति पनि देशभर सामान्यतया बदली रहने पूर्वानुमान छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराई, मधेश प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाड र तराईका थोरै भूभागमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै, कोशी, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।

