बझाङ- बझाङको थलारा गाउँपालिकाले दशैं विदाको अवधिमा कार्यालयका सवारी साधन प्रयोग नगर्न निर्देशन दिएको छ। गाउँपालिकाले आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुकमा एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो।
पालिकाले जनप्रतिनिधि तथा कर्मचारीहरूले प्रयोग गर्दै आएका सबै सवारी साधन असोज १२ गतेभित्र अनिवार्य रूपमा स्टोरमा फिर्ता गर्नुपर्ने समेत भनेको छ । गाउँपालिकाले यस्तो कदम सार्वजनिक सवारी साधनको दुरुपयोग रोक्न, खर्च नियन्त्रण गर्न र सरोकारवाला निकायबीच पारदर्शिता कायम गर्नका लागि उठाएको जनाएको छ। स्थानीय सरकारका अनुसार दशैं जस्ता चाडपर्वमा कार्यालयका सवारी साधन व्यक्तिगत प्रयोजनमा प्रयोग हुने गुनासो पटक–पटक आइरहेकाले यसपटक कडाइ गरिएको हो।
कार्यालयको सवारी साधन जनप्रतिनिधि वा कर्मचारीले व्यक्तिगत प्रयोजनमा प्रयोग गर्न नपाउने व्यवस्था रहेको छ। त्यसैले प्रयोगमा रहेका सबै सवारी असोज १२ गतेभित्र अनिवार्य रूपमा स्टोरमा बुझाउन आग्रह जनाइएको छ ।
यो आर्थिक वर्षमा कार्यालयका सवारी साधन प्रयोग नगर्न निर्देशन दिने थलारा गाउँपालिका पहिलो बनेको छ। पालिकाले कार्यालयका सवारीसाधन व्यक्तिगत प्रयोजनमा प्रयोग गर्न नदिए सरकारी सम्पत्तिको संरक्षण टिकाउ बन्ने विश्वास लिएको छ । यस्तै कार्य अन्य स्थानीय तहले पनि लागू गर्न आवश्यक छ ।
बझाङका अधिकांश स्थानीय तहका सवारीसाधन व्यक्तिगत प्रयोजन र दुरुपयोग भएको प्रस्ट देखिन्छ । तर रोकथाम र नियन्त्रण तर्फ भने नत प्रशासनको ध्यानाकर्षण भएको छ नत सम्बन्धित कार्यालयको नै ध्यानाकर्षण भएको छ ।

