बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आउँदै गरेको दसैं–तिहारलाई लक्षित गरी बजार अनुगमन गरेको छ । गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक मनिषा धामीको संयोजकत्वमा आज देउरा, झोता र बागथला बजार क्षेत्रमा अनुगमन गरिएको हो ।
दसैं तिहारका लागि उपभोक्ताले दैनिक उपभोग्य लगायतका सरसामान किन्नका लागि बजारमा भिडभाड हुने गरेको छ । यहीं मौका छोपेर व्यापारीहरूले गुणस्तर हिन् म्याद नाघेको सामान बिक्रीवितरण तथा चर्को मुल्य असुल्न सक्ने भन्दै पालिकाले अनुगमन गरेको उपाध्यक्ष मनिषा धामीले बताए ।
उनले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै पालिकाका मुख्य र अन्य बजार क्षेत्रमा अनुगमन तथा जनचेतना फैलाएको समेत बताए ।
अनुगमनका क्रममा दैनिक उपभोग्य सामग्री तेल, नुन, चामल, दाल, मसला, ग्यास, तरकारी, फलफूललगायत वस्तुहरूको मूल्य, गुणस्तर र म्याद सम्बन्धी पक्षमा निरीक्षण गरिएको थियो ।
अनुगमन टोलीले बजारमा म्याद नाघेका सामान बिक्री नगर्न, उपभोक्तालाई ठगी नगरी निर्धारित मूल्यमै बिक्री वितरण गर्न व्यवसायीलाई निर्देशन दिएको छ
अनुगमनका क्रममा विभिन्न होटल तथा पसलमा रहेका दैनिक उपभोग्य सामग्रीमध्ये म्याद नाघेका तेल, सोयाबिन, आटा, शस, सुजी, फुर्टी, जुस भेनिगर शस, चाउचाउ, बिस्कुट, नमकिन लगायत विभिन्न सामग्री बरामद गरी नष्ट गरिएको छ । यस क्रममा करिब २१ हजार रुपैयाँ बराबरको म्याद नाघेको सामग्री नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ ।
अनुगमन टोलीले व्यवसायीलाई उपभोक्ता ठगी नगरी निर्धारित मूल्यमै गुणस्तरीय सामग्री बिक्री गर्न निर्देशन दिएको छ । पालिकाले चाडपर्वमा उपभोक्ता मारमा नपार्नका लागि बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।
अनुगमन कार्यक्रम केदारस्युँ गाउँपालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयको उपस्थितिमा सम्पन्न भएको थियो ।
अनुगमन कार्यक्रम अनुगमन समिति संयोजक धामी, सदस्य अम्मराज बिष्ट ,लेखराज रावल, बिष्णु बोहरा, वडा नं २ का अध्यक्ष शेरबहादुर बिष्ट लगायत पालिका उद्यम शाखाका प्रतिनिधि धर्म जेठारा , अन्य कर्मचारी जनप्रतिनिधि , जिल्ला प्रशासन कार्यालयका रोमन चौधरी घरेलु कार्यालयबाट दसरथ जप्रेल, सुरक्षाकर्मी पत्रकारको सहभागीता रहेको थियोे ।

