काठमाडौँ– हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावस्वरूप कोशी प्रदेशसहित देशका पहाडी भूभागमा सामान्यतया बदली र बाँकी क्षेत्रमा आंशिक बदलीको अवस्था देखिएको छ।
आज बिहान कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा मधेस र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशसहित पहाडी भूभागका केही स्थानमा तथा बाँकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
आज राति पनि कोशी प्रदेशलगायत पहाडी भूभागमा सामान्यतया बदली र अन्य क्षेत्रमा आंशिक बदली रहनेछ। त्यस्तै, देशका पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानमा मध्यम वर्षाको पूर्वानुमान गरिएको छ।

