पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यसहित आज विश्व ताल दिवस मनाइँदैछ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा यसै वर्षदेखि यो दिवस मनाउन थालिएको हो। गत वर्षको महासभामा विश्व ताल दिवस मनाउने प्रस्ताव पारित भएको थियो।
यस अवसरमा राष्ट्रसङ्घीय संस्था, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय निकाय, नागरिक समाज, निजी क्षेत्र, वातावरणविद् र शैक्षिक अभियन्तालाई तालको महत्वबारे जनचेतना फैलाउने र संरक्षणमा जोड दिने लक्ष्य राखिएको छ।
संयुक्त राष्ट्रसङ्घका अनुसार पृथ्वीमा करिब ११ करोड ७० लाखभन्दा बढी ताल छन्, जसले विश्वको चार प्रतिशत भूभाग ओगटेका छन्। प्रदूषण र ‘मिथेन’ उत्सर्जनका कारण ताजा पानीका स्रोत घट्दै गएपछि यस दिवसको महत्व झन् बढेको छ।
तालहरूले पेयजल, कृषि र उद्योगका लागि आवश्यक स्रोत उपलब्ध गराउने मात्र नभई जैविक विविधता संरक्षणमा समेत महत्वपूर्ण योगदान दिएका छन्। बढ्दो तापक्रमका कारण ताल सुक्दै जानु र बरफ तीव्रगतिमा पग्लनु चुनौतीका रुपमा देखा परेको सन्दर्भमा ताल संरक्षणलाई अपरिहार्य मानिएको छ।

