धनगढी- हाल देशभर सामान्यतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको केही उत्तर र पश्चिमतर्फ नेपालको तराई नजिक अवस्थित छ।
यसको प्रभावमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा हल्का वर्षा र थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी र बागमती प्रदेशका पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले पूर्वानुमान गरेको छ।
राति पनि देशभर सामान्यतया बदली रहनेछ। मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थान र अन्य प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाडी भूभाग तथा मधेस प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
महाशाखाले कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

