काठमाडौं- भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा दुई नेपाली छात्राको मृत्यु प्रकरणबारे गठित छानबिन समितिले विश्वविद्यालय प्रशासनकै लापरवाही जिम्मेवार रहेको निष्कर्ष निकालेको छ।
समितिको प्रतिवेदनअनुसार विश्वविद्यालयभित्र अवैध, गैरकानुनी र अमानवीय व्यवहारका कारण २० वर्षीय प्रकृति लम्साल र १८ वर्षीया प्रिसा शाहको ज्यान गएको हो।
फागुन ४ गते प्रकृति लम्साल कलेजको होस्टलमा मृत अवस्थामा फेला परेकी थिइन्। मृत्युअघि उनले आफूमाथि मानसिक दबाब र ब्ल्याकमेल गरिएको भन्दै दुई पटक कलेज प्रशासनमा उजुरी दिएको पाइएको छ। तर प्रशासनले उजुरी गम्भीर रूपमा नलिएकाले उनी आत्महत्या गर्न बाध्य भएको निष्कर्ष छ।
घटनापछि विश्वविद्यालय प्रशासनले विरोधमा उत्रिएका अन्य नेपाली विद्यार्थीमाथि बल प्रयोग गर्दै होस्टल खाली गर्न निर्देशनसमेत दिएको थियो। त्यसको केही सातापछि, वैशाख १८ गते अर्की नेपाली छात्रा प्रिसा शाह पनि होस्टलमै मृत फेला परेकी थिइन्।
यी घटनापछि गठन गरिएको छानबिन समितिले विश्वविद्यालयमा यौन दुर्व्यवहार, जबरजस्ती मिलापत्र, न्यूनस्तरको होस्टल सेवा, सांस्कृतिक असंवेदनशीलता, तथा विद्यार्थीमाथिको बल प्रयोगजस्ता गम्भीर कमजोरीहरू औंल्याएको छ।
समितिले दोषी पदाधिकारीलाई कानुनी दायरामा ल्याउन, विश्वविद्यालयको विस्तार तत्काल रोक्न, र विदेशी विद्यार्थीहरूको सुरक्षामा सुधार गर्न सरकारलाई सिफारिस गरेको छ। साथै, विश्वविद्यालयले प्रतिष्ठा जोगाउने नाममा कानुनी प्रक्रिया बेवास्ता गरेको टिप्पणी पनि समितिले प्रतिवेदनमा उल्लेख गरेको छ।
घटनाले अन्तर्राष्ट्रिय विद्यार्थी सुरक्षासम्बन्धी सवालमा गम्भीर प्रश्न उठाएको छ भने नेपाल सरकारले समेत कूटनीतिक तहमा चासो व्यक्त गरिसकेको छ।

