काठमाडौँ– देशभर हाल स्थानीय तथा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
यस्तै, पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको जनाइएको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
मधेश र लुम्बिनी प्रदेशमा भने मौसम आंशिक बदली रही मुख्यतः सफा रहने अपेक्षा गरिएको छ।

