काठमाडौं- हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव रहेको छ।
देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने अन्य भागहरूमा मुख्यतया आंशिकदेखि सफा मौसम देखिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शनिबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित पहाडी क्षेत्रमा थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात पनि हुन सक्ने देखिएको छ।
यस प्रभावका कारण देशभर देखिएको तुवाँलो क्रमशः घट्ने अनुमान छ। तर मेघगर्जन, चट्याङ, वर्षा र हिमपातका कारण स्वास्थ्य, जनजीवन, कृषि, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

