सुर्खेत- चौकुने गाउँपालिकाका अध्यक्ष खडक बिक (बिबश) को नेतृत्वमा विकास निर्माणका कार्यहरू तिव्र गतिमा अगाडि बढिरहेका छन्। २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचित भएपछि अध्यक्ष बिबशले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरी चौकुने गाउँपालिकाको प्रमुख माग गुटु-बेनीघाट सडक कालोपत्रे गर्न अनुरोध गरेका थिए।

उक्त मागलाई तत्काल सम्बोधन गर्दै पूर्व अर्थमन्त्री जनार्दन शर्मा मार्फत बजेट सुनिश्चित गरी निर्माण कार्य अघि बढाइएको थियो।

चौकुने गाउँपालिकाका अध्यक्ष बिबशले व्यक्तिगत रूपमा सडक निर्माण कार्यको अनुगमन तथा निगरानी गरेका थिए।
यसै कारण, सुर्खेत जिल्लाको पश्चिम क्षेत्रको पहिलो पिच सडक चौकुने गाउँपालिकामा बन्न सफल भएको छ। सडक निर्माण मात्र नभई, अध्यक्ष बिबशले चौकुनेका जनताको हित हुने विभिन्न योजनाहरूलाई प्राथमिकता दिँदै काम गरिरहेका छन्।
कृषि क्षेत्रमा प्रोत्साहन
गाउँपालिकाले किसानहरूलाई आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। हालसम्म २० जना किसानलाई माउ बाख्रा, ३ किसानलाई भैंसी, ४० किसानलाई केराका बिरुवा तथा कृषिमा संलग्न किसानहरूलाई प्रोत्साहन भत्ता प्रदान गरिएको छ । यस्ता योजनाहरूले चौकुने गाउँपालिकामा कृषि उत्पादनमा वृद्धि गर्ने विश्वास गरिएको छ।
जुम्ल्यामुल तालको संरक्षण र विकास
कर्णाली प्रदेशकै एक मात्र प्राकृतिक ताल, जुम्ल्यामुल तालको संरक्षण तथा विकासका लागि पनि अध्यक्ष बिबशले विशेष चासो देखाएका छन्। तालको जग्गा व्यवस्थापन तथा निर्माण कार्यलाई तीव्रता दिइएको छ। अबको केही समयमै तालको संरचना पूर्ण रूपमा तयार पार्ने लक्ष्य राखिएको छ।
सामाजिक सेवामा निरन्तर सक्रियता
गाउँपालिकाका अध्यक्ष बिबश जनताको सुख-दुःखमा सधैं साथ रहने प्रतिबद्धता दोहोर्याउँदै आएका छन्। दिनभर कार्यालयका कामहरू सकेर बेलुका जनतासँग प्रत्यक्ष सम्पर्कमा रही समस्या समाधान गर्ने काम गरिरहेका छन्। आफ्नो चुनावी प्रतिबद्धता अनुरूप उनले बिजुली, सडक तथा सिंचाइ योजनाहरूलाई प्राथमिकतामा राखी कार्यान्वयन गरिरहेका छन्।
निजी सवारी प्रयोग गर्दै, सरकारी गाडी जनताको सेवामा
अध्यक्ष बिबशले सरकारी गाडीको व्यक्तिगत प्रयोग नगरी आफ्नो निजी मोटरसाइकलबाट यात्रा गर्ने नीति अवलम्बन गरेका छन्। सरकारी गाडीलाई सामाजिक सुरक्षा भत्ता वितरणका लागि प्रयोग गरिँदै आएको छ।
शिक्षा क्षेत्रमा आमूल परिवर्तनको प्रयास
चौकुने गाउँपालिकाले शिक्षा क्षेत्रको सुधारका लागि बजेटको ३५ प्रतिशत हिस्सा छुट्याएको छ । यसले गाउँपालिकाका विद्यालयहरूमा शिक्षाको गुणस्तर सुधार गर्न महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ । चौकुने गाउँपालिकामा विकास निर्माणका यस्ता कार्यहरू भैरहँदा स्थानीयवासीहरूमा उत्साह बढेको छ । गाउँपालिकाले अगामी दिनमा पनि विकासका योजनाहरूलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ।

