कैलाली : सुदूरपश्चिमकै प्रतिष्ठित कलेज दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा यही चैत २७ गते हुने स्ववियु निर्वाचनका लागि अखिल क्रान्तिकारीका विद्यार्थी नेता बम बहादुर बिकले उम्मेदवारी घोषणा गर्दै प्रचार-प्रसारलाई तीव्र पार्नुभएको छ।
बम बहादुर बिक दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका चर्चित विद्यार्थी नेतामध्ये एक हुनुहुन्छ। निरन्तर विद्यार्थी नेतृत्वमा सक्रिय रहँदै आउनुभएका बिक विद्यार्थी माझ लोकप्रिय नेता हुनुहुन्छ। उहाँले जितेपछि क्याम्पसमा रहेका कमजोरी सुधार्दै विद्यार्थीका हकअधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
विद्यार्थीहरूसँग सधैं नजिक रहँदै पढाइ तथा अन्य गतिविधिमा सक्रिय रहने बिकले विद्यार्थीहरूको समस्यालाई प्राथमिकताका साथ समाधान गर्ने बताउनुभएको छ। स्वच्छ छवि भएका विद्यार्थी नेताका रूपमा परिचित बिकले निर्वाचनमा कुनै पनि पार्टीभन्दा माथि उठेर योग्य उम्मेदवारलाई मतदान गर्न सम्पूर्ण विद्यार्थीलाई अपिल गर्नुभएको छ।
“विद्यार्थीहरू नै देशको परिवर्तनका संवाहक हुन्। कसैको दबाब, धम्की वा लोभमा नपरी आत्मनिर्णयका आधारमा मतदान गर्नुपर्छ,” उहाँले भन्नुभयो। साथै, विजयी भएपछिको दोस्रो दिनदेखि नै विद्यार्थीका हक अधिकारका लागि संघर्षरत रहने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ।
अन्त्यमा, उहाँले सम्पूर्ण विद्यार्थीहरूलाई यही चैत २७ गते हुने स्ववियु निर्वाचनमा सहभागी भई आफ्नो अमूल्य मत प्रयोग गर्न अपिल गर्नुभएको छ।

