बझाङ- आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन ( स्ववियु ) निर्वाचनका लागि छबिसपाथिभेरा गाउँपालिका १ बगडगाउँमा रहेको सेती क्याम्पसबाट २ वटा विद्यार्थी सङ्गठनले मनोनयन पत्र लिएका छन् ।
स्ववियु निर्वाचन कार्यतालिका अनुसार आज दिउँसो २ बजेसम्म मनोनयन पत्र लिने समय रहेकोमा उक्त समयसम्म २ सङ्गठनले मात्रै मनोनयन पत्र लिएका हुन् ।
मनोनयन पत्र लिनेमा अनेरास्ववियु र नेविसंघ रहेको क्याम्पस स्ववियु सभापति लक्ष्मण गिरीले बताए । आज मनोनयन दर्ता पत्र बुझेकाहरूले मात्र भोली उम्मेदवारी दिन पाउने छन् ।
अनेरास्ववियुले सभापतिमा दिपेन्द्र दौल्याललाई घोषणा गरेपनि यता नेविसंघले भने अहिलेसम्म उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन ।
क्याम्पसमा स्ववियुमा भाग लिन पाँचवटा विद्यार्थी संगठनले आफ्नो सङ्गठन दर्ता गराएको भएतापनि २ सङ्गठनले मात्रै मनोनयन पत्र लिएको निर्वाचन समितिले जनाएको छ ।

