पुस महिनाको कठ्याङ्ग्रिने चिसो रात। मालिकार्जुन गाउँपालिका-६, अम्तोलीकी २२ वर्षीया हिरा राउटे, जो आफ्नो पहिलो सन्तान पाउने तरखरमा थिइन्, गम्भीर स्वास्थ्य समस्यामा परिन्। समयमै स्वास्थ्यकर्मी र चिकित्सकको प्रयासले उनको र उनको नवजात शिशुको ज्यान बचाउन सम्भव भयो।
धामी झाँक्रीबाट अस्पतालसम्मको यात्रा
गर्भावस्थामा देखिएको जटिलताको कारण हिरालाई सुत्केरी हुने बेलामा हातखुट्टा बाउडिने र मुखबाट ¥याल झर्ने लक्षण देखियो। यसपछि परिवारले परम्परागत उपचारका लागि धामी झाँक्रीकहाँ लगे। तर, स्वास्थ्यमा सुधार नआएपछि उकु स्वास्थ्य चौकीका एम्बुलेन्स चालक गणेश महराले यो घटना सिनियर अनमी लीला महरालाई जानकारी गराए।
लीला महराले तुरुन्तै हस्तक्षेप गर्दै हिरालाई एम्बुलेन्समा जिल्ला अस्पताल, दार्चुला पुर्याइन्।
आर्थिक अभाव र जिल्लामै उपचारको चुनौती
हिराका श्रीमान् जनक राउटेले आर्थिक अभावका कारण भारतको पिथौरागढस्थित सुविधासम्पन्न अस्पताल लैजान नसकेको बताए। “पैसा नभएकाले धामी झाँक्रीकहाँ जान बाध्य भयौं,” उनले भने।
अस्पतालका डाक्टर सञ्जीव श्रेष्ठले पनि यो जटिल शल्यक्रिया जिल्लामा गर्न असामान्य रहेको बताए। “यस्ता केसमा हामी प्रायः बाहिर रिफर गर्छौं, तर परिवारको अवस्था कमजोर भएकाले हामीले जोखिम मोलेर जिल्लामै उपचार गर्यौं,” उनले भने।
ज्यान जोगाउने डाक्टरको मेहनत
शल्यक्रियाको नेतृत्व डाक्टर सञ्जीव श्रेष्ठ, डाक्टर रञ्जीत पाठक, र डाक्टर राजेश अवस्थीले गरे। “१० प्रतिशत मात्र ज्यान जोगाउने सम्भावना थियो। तर, हाम्रो प्रयास सफल भयो,” डाक्टर श्रेष्ठले भने।
हिराको स्वास्थ्य अवस्था कमजोर रहेको र औषधि तथा शल्यक्रिया उपकरणको कमीले गर्दा चिकित्सक टोलीलाई थप चुनौती भएको थियो। तर, अन्ततः आमा र बच्चा दुवैलाई सुरक्षित रूपमा बचाउन सकियो।
हिराका श्रीमान्को खुसी
विवाह गरेको सात वर्षपछि बच्चा पाएकोमा हिराका श्रीमान् जनक राउटे निकै खुसी छन्। “डाक्टरको मेहनतले हाम्रो परिवारलाई नयाँ जीवन दिएको छ,” उनले भने।
स्थानिय स्वास्थ्यकर्मीको भूमिका प्रेरणादायी
सिनियर अनमी लीला महरा र एम्बुलेन्स चालक गणेश महराले समयमै सहयोग गरेकाले यो सम्भव भएको स्थानीयहरूले बताएका छन्। यो घटना गाउँपालिकाका लागि मात्रै नभई जिल्लाका लागि पनि प्रेरणादायी भएको छ।
दार्चुला जिल्ला अस्पतालको सीमित स्रोतसाधनका बाबजुद चिकित्सक र स्वास्थ्यकर्मीहरूको लगनशीलताले आमा र बच्चाको जीवन बचाउन सकियो। यस घटनाले स्वास्थ्य सेवामा सुधार र सुविधाको आवश्यकता औंल्याएको छ।

