बाजुराको खप्तड छेडेदह गाउँपालिका तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन अवस्थामा रहेको छ। प्रमुख प्रशासकीय अधिकृत नन्दकृष्ण पाध्यायको सरुवापछि अहिलेसम्म नयाँ अधिकृत नियुक्त नहुँदा गाउँपालिकामा दैनिक प्रशासनिक तथा विकास निर्माणका काम ठप्प भएका छन्।
गाउँपालिकामा सेवा लिन आउने स्थानीयहरू सास्ती खेप्न बाध्य भएका छन्। सरकारी प्रमाणपत्र, योजनाको सम्झौता, आर्थिक कारोबार, अनुदान वितरण, र अन्य प्रशासनिक सेवाका लागि आउने सेवाग्राहीहरूलाई दिनहुँजसो फर्किनु परेको छ। जनप्रतिनिधि र निमित्त अधिकृतबाट मात्रै कामकाज सम्भव नभएपछि सेवाग्राहीहरूले गाउँपालिकाको अकर्मण्यताप्रति चर्को असन्तोष व्यक्त गरेका छन्।
७ महिनामै विवादमा पाध्याय, विनासूचना काठमाडौं प्रस्थान
२०८० माघ महिनामा खप्तड छेडेदहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा आएका पाध्यायको कार्यकाल विवादास्पद रह्यो। गाउँपालिकाका जनप्रतिनिधिहरूबीचको आन्तरिक विवाद, बजेटको अनुचित विनियोजन, र योजनामा असमानताका कारण पाध्यायले काम गर्न नसकेको बताइन्छ। उनले विनासूचना काठमाडौंमा सरुवा माग गरेको आरोपसमेत लाग्दै आएको छ।
सेवाग्राहीका गुनासा: काम नगर्ने र बोल्दा पनि वास्ता नगर्ने
गाउँपालिकामा आफ्नो कामका लागि तीन महिनादेखि चक्कर काटिरहेका स्थानीय सेवाग्राहीहरूको गुनासो छ।
“जग्गा प्रमाणपत्र बनाउने कामका लागि महिनौंदेखि गाउँपालिका धाउँदै छु, तर कहिले जिम्मेवार कर्मचारी नभएको त कहिले फाइल अघि नबढेको भन्दै मलाई फर्काइन्छ,” स्थानीय सेवाग्राही थमन बहादुर विकले भने।
अर्का उपभोक्ता समूहका अध्यक्ष राजु बोहराका अनुसार, चालू आवका योजनाहरू अनुमोदन र सम्झौताका लागि प्रमुख प्रशासकीय अधिकृतको उपस्थिती अनिवार्य छ। तर, उहाँ नहुँदा गाउँपालिकाका सबै योजना कागजमै रोकिएका छन्। “निर्माण सामग्री किन्ने, कामदार लगाउने तयारी गरिसकेका छौं, तर सम्झौता नै हुन नसकेपछि काम सुरु गर्न सकिएको छैन,” उनले बताए।
गाउँपालिकाको बजेट विनियोजन विवादमा कांग्रेसले समेत धर्ना र आन्दोलन गरेको थियो। योजनाहरू व्यक्ति विशेष र कार्यकर्तामुखी बनाइएको भन्दै कांग्रेसले गाउँपालिकाका गतिविधिप्रति असहमति जनाएको हो। पार्टीले तत्काल बजेट संशोधन गर्न माग गरे पनि कुनै सुधार नभएको स्थानीयहरूले बताएका छन्।
अध्यक्ष काठमाडौं धाउँदा पनि समस्या समाधान भएन
प्रमुख प्रशासकीय अधिकृत सरुवापछि गाउँपालिका अध्यक्ष दिल बहादुर रावत नयाँ कार्यकारी अधिकृत ल्याउन काठमाडौं धाउँदै आएका थिए। तर, गाउँपालिका स्रोतका अनुसार, उनले अहिलेसम्म नयाँ अधिकृत नियुक्त गर्न सकेका छैनन्। अध्यक्ष रावतले अब निमित्त प्रमुख प्रशासकीय अधिकृतबाटै कामकाज चलाउने तयारी गरिरहेको बताइएको छ।
हाल सूचना अधिकारी कृष्णराज जोशीले निमित्त प्रमुख प्रशासकीय अधिकृतका रूपमा काम गरिरहेका छन्। तर, प्रशासकीय अधिकार र जिम्मेवारी पूर्ण रूपमा कार्यान्वयन गर्न नसक्दा समस्या झन् बल्झिएको छ। आर्थिक कारोबार ठप्प हुनुका साथै चालू आवका योजनाहरूको कार्यान्वयन सुरु गर्न नसकिएको जनाइएको छ।
तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा सेवा र विकास ठप्प भएपछि गाउँपालिकाप्रतिको आलोचना चुलिएको छ। स्थानीय जनप्रतिनिधिहरू र प्रशासनको अकर्मण्यताले समग्र पालिकामा अन्योलको अवस्था सिर्जना भएको छ। “हामीजस्ता निम्न वर्गका सेवाग्राहीलाई गाउँपालिकाको लापरवाहीले अझ ठूलो मार परेको छ,” एक वृद्ध सेवाग्राहीले दुखेसो पोखे।
स्थानीयहरूले गाउँपालिकालाई तत्काल नयाँ प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरेर कामकाज सुचारु गर्न माग गरेका छन्।

