छ घण्टा पैदल हिँड्नुपर्ने बाध्यता, विकासको पर्खाइमा डडेलधुराको पलगडी गाउँ
डडेलधुराको परशुराम नगरपालिका- ११ स्थित पलगडी गाउँ आज पनि विकासको मूल प्रवाहबाट टाढै छ। कञ्चनपुरसँग सीमा जोडिएको चुरे क्षेत्रको विकट पहाडी भूभागमा रहेको यस गाउँमा सडक, विद्युत्, स्वास्थ्य सेवा, खानेपानी र गुणस्तरीय शिक्षाजस्ता आधारभूत सुविधा अझै पुग्न सकेका छैनन्।
करिब ५० परिवार बसोबास गर्ने पलगडी गाउँसम्म अहिले पनि मोटरबाटो पुगेको छैन। स्थानीयहरू झलारी बजारबाट गाउँ पुग्न करिब छ घण्टा पैदल हिँड्न बाध्य छन्। वर्षायाममा पहिरो, हिलो र बाढीका कारण यात्रा अझ जोखिमपूर्ण बन्ने गरेको छ।
गाउँमा कोही बिरामी परे एम्बुलेन्स पुग्ने अवस्था छैन। बिरामीलाई डोको वा पिठ्युँमा बोकेर छ घण्टासम्म पैदल हिँडेर झलारी वा अन्य स्वास्थ्य संस्थासम्म पुर्याउनुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन्।
शिक्षाको अवस्था पनि उस्तै चुनौतीपूर्ण छ। गाउँमा कक्षा ५ सम्म मात्रै पढाइ हुने विद्यालय भएकाले माध्यमिक शिक्षा अध्य...












