धनगढी- कैलालीको घोडाघोडी नगरपालिका–२ टनकपुरमा आइतबार बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
पूर्वबाट पश्चिमतर्फ गइरहेको लु २ च २३५८ नम्बरको तरकारी बोकेको जिपले साइकल यात्री र पैदल यात्रुलाई ठक्कर दिँदा बर्दगोरिया गाउँपालिका–६, कोटा तुल्सिपुर निवासी ५५ वर्षीय शंकर डगौरा गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि घोडाघोडी अस्पताल पुर्याइएको थियो तर चिकित्सकले मृत घोषित गरेका छन्।
ठक्करबाट घोडाघोडी नगरपालिका–२ साडेपानीका ५४ वर्षीय पदम बहादुर शाही, बर्दगोरिया गाउँपालिका–६ का ५४ वर्षीय हर्क बहादुर डगौरा र त्यसै स्थानका २५ वर्षीय कृष्ण डगौरा घाइते भएका छन्। घाइतेहरूको घोडाघोडी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न जिप र चालक रोल्पा, त्रिवेणी गाउँपालिका–४ निवासी २३ वर्षीय सन्तोष घर्तीमगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

