बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका-२ मा रहेको चौधारी माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । अखिल समाजवादी युवा नेता कमल सी ले विद्यालयमा अध्यनरत असहाय, टुहुरा, विपन्न र जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको हो ।
शिक्षामा समान पहुँच र अवसर सुनिश्चित गर्न असहाय टुहुरा १७ र जेहन्दार अनुशासित नियमित विद्यालय आउने ८ जना विद्यार्थीलाई कापी, कलम, मोडेल सेटलगायत आवश्यक शैक्षिक सामग्री वितरण गरिएको कमलले बताए ।
उनलेे शैक्षिक सामाग्री वितरण कार्यक्रममा बोल्दै शिक्षालाई वैज्ञानिक र व्यवहारिक बनाउनु समयको आवश्यकता भएको बताए। उनले भने, “हाम्रो शिक्षा प्रणाली अझै पनि विदेशी अभ्यासमा सीमित छ,, अब मौलिक र हाम्रो माटो सुहाउने शिक्षा प्रणाली लागू गर्नुपर्छ, जसले युवालाई देशमै अवसर देखाओस्।”
उनका अनुसार हालको शिक्षा प्रणालीले विद्यार्थी र युवामा पलायन प्रवृत्ति बढाएको छ। उनले यसमा सुधारका लागि समाजका बुद्धिजीवी, शिक्षक र अभिभावक सबैले गम्भीर बहस आरम्भ गर्नुपर्ने आवश्यकता रहेको औंल्याए। “शैक्षिक आमूल परिवर्तन बिना राष्ट्रको दीगो विकास सम्भव छैन,” उनले थपे।
कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता थियो। सहभागीहरूले समाजका सचेत नागरिकबाट हुने यस्ता सहयोगात्मक पहलले विद्यार्थीहरूमा अध्ययनप्रतिको उत्साह र आत्मविश्वास बढाउने विश्वास व्यक्त गरे।
सीले विगतमा पनि विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण गर्दै आएका छन्। स्थानीय अभिभावकहरूका अनुसार, उनको यो पहल ग्रामीण शिक्षाको गुणस्तर वृद्धि र विद्यार्थीहरूलाई अध्ययनमा प्रेरित बनाउन महत्वपूर्ण योगदान बनेको छ।

