काठमाडौँ —आर्सनलले युरोपेली च्याम्पियन्स लिगको नयाँ ढाँचामा मंगलबार पहिलो जित निकालेको छ र यसका लागि उसले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २–० ले हरायो ।
आर्सनलसँगै अन्य ठूला टिम पनि विजयी रहे । इमिरेट्समा आर्सनलले पीएसजीलाई २–० ले पराजित गरेको हो । त्यसमा काई हाभर्टेज र बुकायो साकाले गोल गरे ।
अन्य खेलमा बार्सिलोनाले योङ ब्वाइजलाई ५–०, बायर लेभरकुजनले एसी मिलानलाई १–०, बोरुसिया डर्टमुन्डले सेल्टिकलाई ७–१, इन्टर मिलानले एफके क्रभेनालाई ४–० तथा म्यानचेस्टर सिटीले स्लोभान ब्राटिस्लाभालाई ४–० ले हरायो । पीएसजी आयनहोभन र स्पोर्टिङ सीपीबीचको खेल भने १–१ को बराबरीमा रह्यो ।
सिटीको जितमा फिल फोडेनले एक गोल गरे भने अर्को एक गोलमा अवसर सिर्जना गरे । डर्टमुन्डका लागि भने करिम एडेयेमीले ह्याट्रिक गरे । यस्तै बार्सिलोनाका तर्फबाट रोबर्ट लेवनडोस्कीले दुई गोल गरे । मिलानमाथि भने लेभरकुजनका लागि भिक्टर बोनिफेसले एक मात्र निर्णायक गोल गरे ।

