बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारिएको छ। मेला नजिकिँदै गएसँगै मेला मूल आयोजक समिति, स्थानीय युवा, खेलाडी, समाजसेवी तथा स्थानीयवासी तयारीमा जुटेका छन्।
परम्परादेखि मनाइँदै आएको बिरीजात मेला यस वर्ष विगतका वर्षभन्दा फरक र व्यवस्थित रूपमा सञ्चालन गर्ने तयारी गरिएको मेला मूल आयोजक समितिले जनाएको छ। विगतमा मुख्यतः देउडा, ढाँके नाच, भलिबल तथा क्रिकेटजस्ता गतिविधिमा सीमित हुँदै आएको मेलामा यस वर्ष खेलकुद प्रतियोगितादेखि राष्ट्रियस्तरका कलाकारको प्रस्तुति र सांस्कृतिक कार्यक्रमसम्म समेटिने भएका छन्।
यसकारण पनि यसपटकको बिरीजात मेलालाई स्थानीयले सामान्य मेलाभन्दा माथि उठेर ‘सानो महोत्सव’कै रूपमा लिन थालेका छन्। मेलालाई सभ्य, भव्य, मर्यादित र अविस्मरणीय बनाउन स्थानीयस्तरबाट आर्थिक, भौतिक तथा नैतिक सहयोगसमेत उत्साहजनक रूपमा जुटिरहेको छ।
स्थानीयको उत्साह बढ्दो
मेलालाई व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्न पूर्ववडाध्यक्षसमेत रहेका पदमबहादुर मण्डेलको अध्यक्षतामा बिरीजात मेला मूल आयोजक समिति गठन गरिएको छ। समितिले अहिले मेला व्यवस्थापन तथा कार्यक्रम सञ्चालनका लागि आर्थिक सहयोग अभियानसमेत सञ्चालन गरिरहेको छ।
अभियानमा स्थानीयवासी, खेलप्रेमी, खेलाडी, समाजसेवी, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता बढ्दै गएको आयोजकले जनाएको छ। मेलाप्रति स्थानीयको बढ्दो सक्रियताले यस वर्षको बिरीजात मेला विगतको तुलनामा थप व्यवस्थित र आकर्षक हुने अपेक्षा गरिएको छ।
स्थानीयवासीका अनुसार अन्य ठाउँमा ठूला तथा व्यवस्थित मेला-महोत्सव सञ्चालन भइरहँदा आफ्नै ठाउँको ऐतिहासिक बिरीजात मेला अपेक्षाकृत व्यवस्थित हुन नसक्दा दुःख लाग्ने गरेको थियो। तर अहिले स्थानीय तहबाटै मेला सफल बनाउन देखिएको सक्रियताले आफूहरू उत्साहित भएको उनीहरूको भनाइ छ।
गत वर्ष कार्यक्रमविहीन बनेको थियो मेला
विगतका वर्षमा बिरीजात मेलामा देउडा, ढाँके नाच प्रदर्शनी, महिला तथा पुरुष भलिबल, क्रिकेटलगायतका प्रतियोगिता आयोजना हुँदै आएका थिए। तर ती कार्यक्रमले निरन्तरता पाउन नसक्दा गत वर्षको बिरीजात मेला कार्यक्रमविहीनजस्तै बनेको थियो।
स्थानीयको सक्रियता र सहभागिता कमजोर हुँदा मेलाको रौनकसमेत घट्दै गएको स्थानीय बताउँछन्। अहिले भने पुराना कमजोरी सुधार गर्दै मेला व्यवस्थित र मर्यादित बनाउन स्थानीयस्तरबाटै पहल सुरु भएको छ।
कला, संस्कृति र परम्परा संरक्षणमा जोड
पछिल्लो समय कला, संस्कृति, मौलिक परम्परा तथा स्थानीय पहिचानका गतिविधि क्रमशः लोप हुँदै जान थालेपछि त्यसको संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले बिरीजात मेला मूल आयोजक समिति गठन गरिएको समितिले जनाएको छ।
मेला मूल आयोजक समितिका सचिव जनकबहादुर बोहराले बिरीजात मेलालाई केवल मनोरञ्जनको माध्यम नभई स्थानीय कला, संस्कृति, परम्परा र पहिचान संरक्षण गर्ने महत्वपूर्ण अवसरका रूपमा विकास गर्न खोजिएको बताए।
उनका अनुसार विगतमा बाउबाजेको पालामा बिरीजात मेला हेर्न छबिसपाथिभेरामात्रै नभई नौबिससम्मका मानिस आउने गर्दथे। तर समयक्रमसँगै मेलामा अव्यवस्था, झैझगडा तथा अन्य नकारात्मक गतिविधि बढ्दै जाँदा मेलाप्रति आकर्षण घटेको उनको भनाइ छ।
“विगतका कमीकमजोरी सुधार गर्दै बिरीजात मेलालाई सभ्य, भव्य, मर्यादित र व्यवस्थित बनाउने लक्ष्यसहित हामी अघि बढिरहेका छौँ,” सचिव बोहराले भने।
राष्ट्रिय कलाकारको प्रस्तुति मुख्य आकर्षण
यस वर्षको बिरीजात मेलामा विगतको तुलनामा फरक दृश्य देख्न पाइने आयोजकको दाबी छ। विगतका वर्षमा हुँदै आएका भलिबल, ढाँके नाच तथा देउडालगायतका कार्यक्रमलाई निरन्तरता दिँदै यस वर्ष राष्ट्रियस्तरका कलाकारको प्रत्यक्ष प्रस्तुति थप गरिएको छ।
मेलाको अवसरमा खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता, ढाँके नाच प्रदर्शनी, विभिन्न सांस्कृतिक कार्यक्रम तथा राष्ट्रिय कलाकारको लाइभ देउडा प्रस्तुति आयोजना गरिने भएको छ।
मेलामा राष्ट्रियस्तरका कलाकार सुनिल नेपाली, संगीता बडुवा, जे.आर. भट्ट र सुशीला बमको प्रस्तुति रहने आयोजकले जनाएको छ। राष्ट्रिय कलाकारको आगमनले मेलामा जिल्लाभित्र तथा बाहिरबाट समेत दर्शकको उपस्थिति बढ्ने अपेक्षा गरिएको छ।
भदौ १२ गते उद्घाटन
बिरीजात मेला यही भदौ १२ गते छबिसपाथिभेरा गाउँपालिका–७ मजखोरीमा उद्घाटन गरिने भएको छ। धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिरीजात मेलालाई यस वर्ष थप व्यवस्थित, सभ्य र आकर्षक बनाउँदै स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने आयोजकको लक्ष्य छ।
मेलालाई सफल बनाउन आयोजक समितिले स्थानीयवासी, जनप्रतिनिधि, समाजसेवी, व्यवसायी, खेलाडी, कलाकार तथा सम्पूर्ण शुभेच्छुकलाई सहयोग र सहभागिताका लागि आग्रह गरेको छ।

