सप्तरी- सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा जेलर रूपक मण्डलको सरुवाको माग गर्दै कैदीबन्दीहरू आन्दोलनमा उत्रिएपछि कारागार परिसर तनावग्रस्त बनेको छ।
राजविराज नगरपालिका-६ स्थित कारागारमा जेलर मण्डलले चौकीदार नियुक्तिका नाममा आर्थिक अनियमितता गरेको तथा कैदीबन्दीबाट रकम असुलेको आरोप लगाउँदै उनीहरू तीन दिनदेखि आन्दोलनमा छन्। आन्दोलनरत कैदीबन्दीहरूले जेलरको तत्काल सरुवा र घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्।
आन्दोलन नियन्त्रणका लागि प्रहरीले बल प्रयोग गर्न खोजेपछि स्थिति थप तनावपूर्ण बनेको थियो। त्यसक्रममा केही कैदीबन्दीहरूले शरीरमा मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गरेका थिए। आत्मदाहको प्रयासपछि प्रहरी पछि हटेको स्रोतले जनाएको छ।
राजविराज-१५ मुसहरनियाँका कैदी धर्नेन्द्रप्रसाद साहले आफूलाई चौकीदार बनाइदिने भन्दै चौकीदार कामेश्वर यादवले बाहिरका विनोद यादवमार्फत जेलर रूपक मण्डलको नाममा गत जेठ ५ गते पाँच लाख रुपैयाँ घुस लिएको आरोप लगाएका छन्।
यता, रकम असुलीको विषयमा विवाद चर्किएपछि चौकीदार कामेश्वर यादवलाई झुम्का कारागार सरुवा गर्ने तयारी गरिएपछि बी-ब्लकका कैदीबन्दीमाथि कुटपिट भएको आरोपसमेत लागेको छ।
घटनापछि कारागार परिसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्या परिचालन गरिएको छ। सुरक्षा संवेदनशीलताको कारण देखाउँदै सञ्चारकर्मीहरूलाई समेत घटनास्थलमा पुगेर समाचार सङ्कलन गर्न रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी रामकृष्ण थापाले कारागारको शान्तिसुरक्षा कायम गर्न प्रहरी भित्र प्रवेश गर्न खोज्दा केही कैदीबन्दीहरूले शरीरमा मट्टीतेल खन्याएको स्वीकार गरे। उनका अनुसार अहिले कैदीबन्दीहरूसँग संवाद र सम्झाइबुझाइ भइरहेको छ र अवस्था सामान्य बन्दै गएको छ।
प्रमुख जिल्ला अधिकारी थापाका अनुसार बी-ब्लकका चौकीदार राम रिझनले कैदीबन्दीहरूप्रति समान व्यवहार नगरेको आरोपपछि विवाद उत्पन्न भएको हो।

