धनगढी- कैलालीका छुट्टाछुट्टै स्थानबाट प्रहरीले चरेस र ब्राउन सुगर (खैरो हेरोइन) जस्तो देखिने लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।
जिल्लाको गोदावरी नगरपालिका–९ बाट ३५ वर्षीया पार्वती गुरधामीलाई १७२ ग्राम ९३ मिलिग्राम चरेस जस्तो देखिने कालो पदार्थ र एक थान डिजिटल तराजुसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीको संयुक्त टोलीले उनलाई आफ्नै घरबाट नियन्त्रणमा लिएको हो।
यस्तै, लम्कीचुहा नगरपालिका–४ बलियाबाट २१ वर्षीय उज्जल चौधरी ३ ग्राम ७०० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ परेका छन्। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले उनलाई घरबाटै पक्राउ गरेको हो।
सोही स्थानबाट प्रहरीले २३ वर्षीय अमित चौधरीलाई पनि २१० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरेको जनाएको छ।

