काठमाडौँ- बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ को प्रभाव नेपालमा क्रमशः कमजोर हुँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यद्यपि पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देशभर कायम रहेको महाशाखाले बताएको छ।
कोशी प्रदेशमा पूर्ण बदली छ भने बाँकी प्रदेशहरूमा सामान्यदेखि अधिकांश स्थानमा आंशिक बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा सामान्य बदली रहनेछ भने बाँकी प्रदेशहरूमा आंशिक बदली रहने अनुमान छ। कोशीका थोरै स्थानमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
त्यसैगरी, कोशीका उच्च पहाडी र हिमाली भूभागका थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति कोशी र मधेश प्रदेशमा सामान्य बदली रहनेछ भने बाँकी प्रदेशहरूमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

