सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले तोकेको धानको समर्थन मूल्य कार्यान्वयन नगर्ने व्यापारीहरूलाई कारवाहीको दायरामा ल्याइने चेतावनी दिएका छन्।
नेपाल सरकारले निर्धारण गरेको धानको समर्थन मूल्य किसानहरूले नपाएको गुनासो आएपछि मुख्यमन्त्री शाहले कैलालीका प्रमुख जिल्ला अधिकारीलाई तत्काल अनुगमन गर्न निर्देशन दिएका हुन्। उनले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई टेलिफोन सम्पर्क गरी किसानहरूले तोकिएको मूल्य पाएको वा नपाएको विषयमा अनुगमन गर्न र आवश्यक कारवाही गर्न निर्देशन दिएका हुन्।
मुख्यमन्त्री शाहले सरकारले तोकेको मूल्यमा किसानले आफ्नो उत्पादन बिक्री गर्न पाउनु पर्नेमा जोड दिँदै, “समर्थन मूल्य किसानको हक हो, यसको कार्यान्वयन सुनिश्चित हुनैपर्छ,” भन्ने धारणा राखे।
यसअघि २०८२ असोज ३१ गते प्रमुख जिल्ला अधिकारी लम्सालले सार्वजनिक सूचनामार्फत मोटो धानको मूल्य प्रतिक्विन्टल रु ३,४६३.८१ र मध्यम धानको मूल्य प्रतिक्विन्टल रु ३,६२८.३३ निर्धारण गरिएको जानकारी दिएका थिए।
त्यस सूचनामा उनले सरकारले तोकेको मूल्यमै धान खरिद–बिक्री गर्न र सो निर्णय कार्यान्वयन गराउन सबै स्थानीय तहलाई आग्रह गरेका थिए। प्रमुख जिल्ला अधिकारी लम्सालले छठ पर्वपछि कैलालीका सबै पालिकामा अनुगमन गर्ने तयारी भइरहेको पनि बताएका छन्।

