बझाङ । बझाङको दुर्गाथली गाउँपालिकामा विपद, संवेदनशील सामाजिक सुरक्षा समन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम निड्स नेपाल र सुरक्षा नागरिक समाज सञ्जालको आयोजनामा, युरोपियन युनियन तथा संयुक्त राष्ट्रसंघको सहयोगमा, र दुर्गाथली गाउँपालिकाको समन्वयमा सम्पन्न भएको हो ।
कार्यक्रमको सभाध्यक्ष पालिकाको वडा नं २ का वडा अध्यक्ष धनराज मिश्र रहनुभएको थियो । उहाँले पालिकामा एकल महिला र जोखिममा रहेका बालबालिकाहरुलाई पालिकाले सहयोग गरेको बताउनु भयो । यो कार्यक्रमले पालिका भरीका नागरिक जो अति जोखिम र न्युन वर्गका नागरिकहरुलाई सामाजिक सुरक्षा बाट पनि कसरि उनीहरुलाई माथि उकास्न सकिन्छ भनेर पालिका लागिरहेको बताएका छन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लाल बहादुर विष्टका अनुसार विशेष गरेर विपद् शाखालाई मात्र नभएर प्रत्येक समुदायमा यस्ता खालका जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेर विपद् बाट हुन सक्ने जोखिमलाई कम गर्न सकिने बताउनुभयो । त्यस्तै निड्स नेपाल बाट लक्ष्मण चलाउनेले सामाजिक सुरक्षाको क्षेत्रमा रहेर विपद्लाई कसरी कम गर्न सकिन्छ भन्ने कुरा बताउनु भयो ।
कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, शाखा प्रमुख, विपद् व्यवस्थापन समितिको टिम , संघ संस्थाका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो । यहाँ भन्दा अगाडि पनि निड्स नेपालले बझाङका ३ वटा पालिकामा बालबालिका र महिलाको क्षेत्रमा निरन्तर काम गर्दै आइरहेको छ ।

