आश्विन कृष्ण प्रतिपदाबाट सुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले प्रकाशित पञ्चाङ्गअनुसार पहिलो दिन प्रतिपदा तिथि श्राद्ध गर्नुपर्नेछ। समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईका अनुसार प्रतिपदा तिथिको पिण्डदान अपराह्नसम्म सम्पन्न गर्नुपर्ने व्यवस्था छ।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल तृतीयासम्मका सोह्र तिथिमा दिवंगत पितृलाई सम्मानपूर्वक तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो। यो समयलाई अपर पक्ष वा प्रेत पक्ष पनि भनिन्छ।
वैदिक सनातन हिन्दू परम्पराअनुसार चाडपर्व, यज्ञयागादि वा कुनै ठूलो कार्य अघि दिवंगत पितृप्रति श्रद्धा–भक्ति अर्पण गर्दै सोह्रश्राद्ध गर्ने प्रचलन रहिआएको छ। शास्त्रीय मान्यताअनुसार यस समयमा पितृहरूले सन्तानबाट तर्पणको आशा गर्ने भएकाले सोह्रश्राद्धलाई विशेष महत्व दिइन्छ।
सोह्रश्राद्ध सम्पन्न भएपछि दुर्गा पक्ष अर्थात् बडादसैँ सुरु हुन्छ। बडादसैँ मनाउनुअघि पितृतृप्तिका लागि श्राद्ध गर्ने परम्परा निरन्तर रहँदै आएको धर्मशास्त्रविद्हरूको भनाइ छ।

