बढैपुर- कैलालीको गौरीगंगा नगरपालिका–१० र ११ मा सञ्चालनमा रहेका विभिन्न परियोजनाहरूको अनुगमन गरेको छ। वल्र्ड भिजन इन्टरनेशनल नेपालसँग साझेदारीमा बाल कल्याण संघ टिकापुर र दिगो विकास समाज भजनिको आयोजनामा सञ्चालित परियोजनाहरूको अनुगमन गरिएको हो।

गौरीगंगा नगरपालिका उपप्रमुख भोजबहादुर बमको संयोजकत्वमा गएको अनुगमन टोलीले आयआर्जन, बाल उत्थान, बाल संरक्षण, सामुदायिक संलग्नता, स्पोन्सरसिप, अभिभावक शिक्षा, अन्तरपुस्ता संवाद, कृषि उत्पादन समूह, कृषि फर्म, बाल अधिकार समिति र बालमैत्री स्थानीय शासनअन्तर्गतका विभिन्न गतिविधिहरूको स्थलगत अवलोकन गरेको छ । परियोजना मार्फत सञ्चालित गतिविधिहरूको प्रगति समिक्षा गर्नका लागि अनुगमन गरिएको जनाइएको छ ।

स्थानीयले अनुगमन टोलीसंग बालविवाह न्यूनीकरण, लागूऔषध दुरुपयोग नियन्त्रण र दुर्व्यसन अन्त्यका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ। साथै, सडक सुरक्षा सुनिश्चित गर्न सीसी क्यामेरा जडान र सडक बत्ती विस्तार गर्नुपर्ने स्थानीयको माग रहेको छ।
त्यसैगरी, कृषि क्षेत्रमा उत्पादन बढाउने उद्देश्यले दिगो विकास परियोजनाअन्तर्गत हरियाली ताजा तरकारी उत्पादन समूहको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको छ। तर, बजार व्यवस्थापन र ढुवानीमा समस्या देखिएको भन्दै स्थानीयहरूले कृषि एम्बुलेन्स र तराजु सहितको कृषि संकलन केन्द्र स्थापना गर्न माग गरेका छन्।
अनुगमन टोलीले संकलित सुझाव र आवश्यकताहरूलाई पालिका र सम्बन्धित निकायमा समन्वय गरी कार्यान्वयन गरिने जनाएको छ।
अनुगमन टोलीमा उपप्रमुख बमसहित निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिश पन्त , वडा नं १० का वडाध्यक्ष नरसिंह सार्की , वडा नं ११ का वडाध्यक्ष साहेबलाल चौधरी, पालिकाका कृषि शाखाका प्रतिनिधि मानवबहादुर राउत, महिला तथा बालबालिका शाखाकी भावना जोशी, बाल कल्याण संघका हरि प्रसाद जोशी र नरेश चौधरी, दिगो विकास समाज भजनिबाट सुरज चौधरी र निर्मला चौधरीलगायत सहभागी थिए।

