धनगढी- नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँटले भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) मा ऐतिहासिक जित दर्ता गर्दै बान्टमवेट श्रेणीको बेल्ट जितेका छन्।
ढाँटले साविक विजेता भारतीय चोङ्गरेङ्ग कोरेनलाई तेस्रो राउन्डको ५४औँ सेकेन्डमै नकआउट गर्दै सनसनीपूर्ण विजय हासिल गरे। यो जितसँगै उनको व्यावसायिक करियरमा यो नवौँ सफलता हो।
फाइटका लागि ढाँटले लामो तयारी र मिहिनेत गरेका थिए। दोस्रो राउन्डदेखि विपक्षीमाथि दबाब सिर्जना गर्दै तेस्रो राउन्डमा तीव्र आक्रमणले कोरेनलाई पस्त पारे।
उनको प्रदर्शनप्रति प्रशिक्षक र टिम सदस्यहरूले प्रशंसा व्यक्त गर्दै यसलाई नेपालका लागि गर्वको क्षण भनेका छन्। यस जितले अन्तर्राष्ट्रियस्तरमा नेपाली एमएमएको छवि उजागर गरेको छ।
ढाँटको सफलता नेपाली खेलकुदका लागि प्रेरणादायी बनेको छ। नयाँ प्रतिभाका लागि उनी हौसला र आत्मविश्वासको स्रोत बनेका छन्।

