काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित भएकाले अधिकांश स्थानमा बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसोको पूर्वानुमान अनुसार, देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। साथै, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने महाशाखाले जनाएको छ।
रातिको लागि पनि गण्डकी प्रदेशसहित पहाडी भेगका केही स्थानमा र तराईका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ। एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले महाशाखाले सर्वसाधारण तथा सरोकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन र पछिल्लो मौसमी जानकारीमा अपडेट रहन आग्रह गरेको छ।

