दार्चुला- दार्चुलाको व्यास गाउँपालिका–२, तल्लो दुम्लिङका २८ वर्षीय नारायण बुढाथोकी मङ्गलबार तुइन तर्दै गर्दा महाकाली नदीमा खसेर बेपत्ता भएका छन्। भारतीय बजारतर्फ जाँदै गर्दा तुइनको डोरी चुँडिएर उनी खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
वडाध्यक्ष धीरनसिंह बुढाथोकीका अनुसार, सन् १९९३ (वि.सं. २०५०) देखि हालसम्म दुम्लिङ क्षेत्रमा तुइन तर्दै गर्दा २३ जना बेपत्ता भएका छन्। तीमध्ये २० जना दुम्लिङका हुन् भने बाँकी अन्य स्थानका।
दुम्लिङमा झोलुङ्गे पुल नहुँदा स्थानीय वर्षौंदेखि अवैध रूपमा तुइन प्रयोग गर्दै आएका छन्। मालगाउँमा पुल भए पनि दुम्लिङबाट तीन घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ।
नेपाल सरकारले तुइन विस्थापन योजना सञ्चालन गरे पनि दार्चुलाका केही ठाउँमा अझै अवैध तुइनमार्फत वारपार भइरहेको छ। प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले सीमा क्षेत्रमा तुइन प्रयोग नगर्न आग्रह गर्दै यसले सुरक्षामा चुनौती सिर्जना गर्ने बताउनुभयो।

