रुकुम पूर्वको सिस्ने गाउँपालिकाकी कार्यालय सहायक कोइली शाहीको मृत्यु प्रकरणमा एमाले निकट संगठन प्रेस चौतारी नेपाल रुकुम पश्चिमका अध्यक्ष तथा पत्रकार परिचन्द्र खत्री मुछिएका छन्।
शाहीको परिवारले खत्रीविरुद्ध आत्महत्या दुरुत्साहनको किटानी जाहेरी दिएको हो। शनिबार साँझ जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वमा जाहेरी परेको प्रहरीले जनाएको छ।
२५ वर्षीया शाही शनिबार बिहान आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। परिवारको आरोपअनुसार खत्रीले बारम्बार फोन गरेर मानसिक तनाव दिने गरेका थिए।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका डीएसपी उमाशंकर प्रसाद यादवले घटनाको अनुसन्धान भइरहेको र जाहेरी परेका व्यक्तिको खोजी भइरहेको जानकारी दिए।
मृतक शाहीको अन्त्येष्टि गरिसकिएको छ। यद्यपि, पोष्टमार्टम रिपोर्ट आउन अझै केही दिन लाग्ने प्रहरीले जनाएको छ।
जाहेरी परेपछि पत्रकार खत्री हाल फरार रहेका छन् र कसैको सम्पर्कमा आएका छैनन्।

