कञ्चनपुर- वेदकोट नगरपालिका–९ लालपुरका विष्णु पनेरू घाइते छाडा जनावरको उद्धार र स्याहारमा समर्पित छन्। पेशाले नेचर गाइड रहेका पनेरु विगत सात वर्षदेखि घाइते पशुचौपायाको उपचारमा सक्रिय छन्।
सडक दुर्घटना वा अमानवीय व्यवहारका कारण घाइते भएका जनावरको उद्धार गरेर उनले आफ्नै घरमा राखेर उपचार र स्याहार गर्दै आएका छन्। हालसम्म उनले एक हजारभन्दा बढी जनावरको उपचार गरिसकेको बताउँछन्।
“घाइते चौपाया देख्नेबित्तिकै दया आउँछ, घरमै लगेर उपचार गर्छु,” पनेरु भन्छन्, “तर उपचारपछि व्यवस्थापनको स्रोत नहुँदा पुनः सडकमा छाड्नुपर्दा दुख लाग्छ।”
हाल पनेरु आफ्नै घरमा १० वटा घाइते गाईगोरुको उपचार गरिरहेका छन्। सामाजिक सञ्जालमार्फत अभियानबारे जानकारी पाएका सात–आठ जना विद्यार्थी र युवा पनि अहिले पनेरुको अभियानमा साथ दिइरहेका छन्।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा कार्यरत पनेरुले मासिक झन्डै २५ हजार रुपैयाँ आम्दानी गर्छन्। सोही आम्दानीबाट उनी जनावरको औषधोपचार र स्याहार खर्च गर्दै आएका छन्। “गाईगोरु मात्रै होइन, कुकुर, बिरालोजस्ता अन्य जनावरको पनि उद्धार गरिरहेको छु”, उनले बताए।
छाडा चौपाया व्यवस्थापनका नाममा कञ्चनपुरका पालिकाले करोडौँ रुपैयाँ खर्च गरे पनि समस्या भने ज्यूँका त्यूँ छ। चौपायाका कारण सडक दुर्घटना हुने, जनावर घाइते हुने क्रम रोकिएको छैन।
“दूध दिन छाडेपछि गाई सडकमा छाड्ने प्रवृत्तिले समस्या बढाएको छ”, पनेरु बताउँछन्, “सामुदायिक वन बनेपछि चरन क्षेत्र हराउँदै गयो, घाँस ल्याउन नपाइने भयो, जसले समस्या झन् बढाएको छ।”
उनले स्थानीय सरकारले प्रत्येक वडामा पशुपालन विवरण संकलन गर्नुपर्नेमा जोड दिएका छन्। “दण्ड र जरिवाना नहुँदा छाडा चौपाया सडकमा छाड्ने प्रवृत्ति बढेको छ,” उनी भन्छन्, “स्थानीय सरकार गम्भीर नभएसम्म समस्या समाधान हुँदैन।”

