काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालमा सरदर स्थानको आसपास र पश्चिमी नेपालमा सामान्यभन्दा अलिकति उत्तरतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा सामान्य बदली रहेको छ भने अन्य भूभागमा आंशिक बदली देखिएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आइतबारको लागि पूर्वानुमान
देशभर सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना समेत रहेको छ।
त्यस्तै, देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
सतर्कता अपनाउन आग्रह
सम्भावित वर्षाका कारण भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहन सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ। सहरी तथा तराई क्षेत्रहरूमा डुबानको सम्भावना समेत रहेको हुँदा ठूला तथा साना नदी–नालामा पानीको सतह बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन सर्वसाधारण र सरोकारवाला निकायहरूलाई अनुरोध गरिएको छ।

