काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेकोले अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थान र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशसहित देशका पहाडी भूभागहरूमा सामान्य बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। यस क्रममा कोशी र बागमती प्रदेशका केही स्थान तथा अन्य प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना पनि छ।
कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षासहित हिमपात हुन सक्ने देखिएको छ। अन्य प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि यस्तै सम्भावना रहेको छ।
आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

